
काठमाण्डू, १३ जेठ– गृहममन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने भएका छन् ।
सिंहदरबारमा केहीबेरअघि सम्पन्न नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, नेकपा एकीकृत
समाजवादीसहित दलका प्रमुख सचेतकहरुको बैठकले उक्त निर्णय गरेको हो । रास्वपा सहप्रवक्ता मनिष झाले आजको संसद बैठक सामान्य नहुने बताए । ‘हामीले यसअघघि नै आजको बैठक सामान्य हुँदैन भनिसकेका थियौं’, झाले भने, ‘प्रतिपक्षी दलहरु गृहमन्त्रीको राजीनामाको प्रश्नमा एकै ठाउँमा उभिन्छौं ।’
प्रतिपक्षीले अवरोधको तयारी गरेपछि ११ बजे बस्ने भनिएको बैठक निर्धारित समयमा सुरु भएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट दैनिक ५० लाख रुपैयाँ उठाएर पर्यटक भिसामा मानिस पठाउने गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गृहमन्त्री लेखकको काँग्रेसभित्र र बाहिरबाट राजीनामा माग हुँदै आएको छ ।
यद्यपि लेखकको दल काँग्रेस र सरकार नेतृत्वकर्ता एमालेले भने कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिनुनपर्ने जिकिर गर्दै लेखकको बचाउ गरेका छन् ।
गृहमन्त्री लेखकले आजको बैठकमा उक्त प्रकरणबारे जवाफ दिने बताएका थिए ।