विप्लवले विनोद चौधरीलाई बेचे दुई लाख किलो आलु

काठमाण्डु टुडे २०८२ जेठ १३ गते ९:४१ मा प्रकाशित

दाङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अर्बपति व्यापारी एवं काँग्रेस सांसद् विनोद चौधरीलाई दुई लाख किलो आलु बेचेको बताएका छन् ।

तुलसीपुरमा सोमबार साँझ आयोजित एक कार्यक्रममा उनले चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए । चौधरीसँग आफूले काठमाण्डूमा भेटेको र त्यस क्रममा उनले चमत्कार जस्तो लागेको बताएको दाबी चन्दले गरे ।

‘आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाण्डूमा भेट पनि भएको थियो ।

उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नु भएको थियो’, चन्दले भने, ‘उहाँ (चौधरी) लाई लागेको हुँदो हो यिनीहरूले बढीमा २०–३० हजार किलो आलु उत्पादन गर्ने भनेर । तर टार्गेट भन्दा बढी उहाँलाई लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं ।’

पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेको र उनीहरू उत्साहित भएको बताए ।

फरक प्रसंगमा चन्दले आफ्नो पार्टीले काठमाण्डूसहित नेपालका विभिन्न तीन ठाउँमा उद्योगको सुरूवात गरेको र ती उद्योग नाफामा चलिरहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us