ठुलो रकम खर्चेर राजवादीहरूले भ्रमको खेती गरेः एमाले महासचिव

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– एमाले महासचिव शङ्कर पोखरेलले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा ठुलो रकम खर्चेर राजावादीहरूले भ्रमको खेती गरेको दाबी गरेका छन । आज (सोमबार) एमाले बागमती प्रदेश कमिटीद्वारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडा अध्यक्षहरूको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

एमाले महासचिव पोखरेलले भने, ‘लामो बलिदानीले प्राप्त लोकतन्त्र संसारमै उत्कृष्ट व्यवस्था हो’ महासचिव पोखरेलले एमालेबाट निर्वाचित बाग्मती प्रदेशका वडा अध्यक्षहरूलाई निर्देशन दिँदै भने, ‘त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाका विरुद्धमा लाग्ने काम गरेका छन् ।’

राजाले प्रत्यक्ष सञ्चालन गरेको शासन प्रणालीभन्दा छोटो अवधिको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामिक क्षेत्रमा राहत दिने काम गरेको, विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले गणतन्त्रको विकल्प खोज्ने राजावादीहरुको दिवास्वप्ना कहिल्यै पुरा नहुने ठोकुवा गरे ।

‘पञ्चायती व्यवस्थामा धनी र गरिब बिचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले घटेर ६ गुणामा झरेको छ । मान्छेको औसत आयु ५४ वाट बढेर ७४ वर्ष पुगेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भौतिक पूर्वाधारको विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ ।

अझै नागरिकमा आशा फैलाउने गरी देशभर ठुलो ठुला विकास निर्माणका परियोजनाहरू सञ्चालनमै छन् । छोटो अवधिमा प्राप्त उपलब्धिहरू अध्ययन नगरेर लोकतान्त्रिक व्यवस्थामा काम भएन भन्ने भ्रमलाई चिर्दै आशा जगाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ, महासचिव पोखरेलले थप्नुभयो ।’

कार्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारहरूसँग कम भए पनि प्रत्यक्ष रूपमा तिनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्त्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा उनले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us