
काठमाण्डू, २२ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट वान टु वान वार्ता भएको छ ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएका थिएनन् ।
यसबारे प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि दुई नेता छुट्टाछुट्टै बस्नु जरुरी थियो, ‘एक किसिमले भन्दा यसअघि न्युयोर्कमा भेटे पनि आइसब्रेक भइसकेको थिएन । आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनुभएको हो ।’
सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ । भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् ।
मोदीले काठमाण्डू आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।