
काठमाण्डू, १६ चैत– पूर्र्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीले प्रेसमाथि अंकुश चाहेको बताएका छन । माओवादी अध्यक्ष प्रचण्डले विगतमा राजतन्त्र सक्रिय हुँदा प्रेसमाथि दमन भएको उल्लेख गर्दै उनले फेरि पनि उनीहरू प्रेसप्रति रुष्ट रहेको दाबी गरेका छन ।
आज (शनिबार) राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘चैत १५ को उनीहरूको प्रदर्शनका क्रममा मानिसको ज्यान गयो ।
गाडीहरू जलाइयो । एक जना पत्रकारको जलाएर हत्या गरियो, ‘हिजो राजतन्त्रमा सबैभन्दा बढी आक्रमणको सिकार प्रेस भएको थियो । प्रेसमाथि अंकुश लगाउने उनीहरूको जोड हुन्थ्यो ।
उनीहरू अहिले पनि त्यस्तै चाहन्छन् ।’ तर, विगतमा जस्तो प्रेसमाथि नियन्त्रण सम्भव नरहेको ख्याल गर्न राजावादीलाई प्रचण्डको आग्रह छ । अध्यक्ष प्रचण्डले शुक्रबार समाजवादी मोर्चाको प्रदर्शनका कारणले समेत राजावादी हतोत्साहित हुन पुगेको टिप्पणी गरे ।