राजा जोगाउन नसकेको भन्दै प्यारजंग थापा र कटवालमाथि खनिए रविन्द्र मिश्र

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १९:३३ मा प्रकाशित

पोखरा, ९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तत्कालीन प्रधानसेनापति प्यारजंग थापा र रक्मांगद कटवालप्रति आक्रोश पोखेका छन् ।

शुक्रबार पोखरामा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मिश्रले थापा र कटवालले राजा जोगाउन नसकेको आरोप लगाए । ०६२÷०६३ को आन्दोलनको समयमा थापा प्रधानसेनापति र कटवाल बलाध्यक्ष रथी (अपरेशन प्रमुख) थिए ।

‘नेपाली सेनाका दुई प्रधानसेनापतिले समयमा र परिआएको बेलामा आफ्नो परमाधिपतिको रक्षा गर्न सक्नुभएन’, मिश्रले भने, ‘उहाँहरुप्रति मेरो ठूलो गुनासो छ । सेना त्यस्तो संस्था हो, जसले देशको दिर्घकालीन सुरक्षा र हित सुनिश्चित गर्छ ।’

मिश्रले गणतन्त्रका लागि भएको आन्दोलन गर्ने सात दलका नेतालाई थापा र कटवालले ‘तिमीहरु राजसंस्थालाई छुन पाउँदैनौ’, भन्न नसकेको नको गुनासो छ ।

उनले सेना र प्रहरीले विगतको गल्ती सच्याएर राजतन्त्र पुनर्सथापनमा भूमिका खेल्नुपर्ने बताए । पूर्वराजा ज्ञानेन्द्रबाट आह्वान भएको बेलामा सेना र प्रहरीले देशको दिर्घकालीन हित र सुरक्षाका लागि राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिनुपर्ने बेला आएको जिकिर उनको थियो ।

‘तपाईंहरुले हरेक आन्दोलनमा अगाडि रहेर ढुंगा खानुपर्ने, मारिनुपर्ने अनि तपाईंहरु हरेकचोटि यी भ्रष्ट नेता र सरकारलाई बचाउ गरेर कहिलेसम्म हिँड्नुहुन्छ ? विचार गर्नुस ।

सेना र प्रहरीले राजनीतिक दलहरुलाई भन्नुपर्यो, अब नविन समझदारी नगर्ने हो भने देशको अस्तित्व र सार्वभौमसत्ता संकटमा पर्छ’, मिश्रले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us