बीपी र प्रचण्ड युगनायक हुन्ः वर्षमान

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १८:४३ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको दाबी गरेका छन । आज शुक्रबार झापामा आयोजित एक कार्यक्रममा पुनले यस्तो बताएका हुन ।

उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई नेता मुलुकको राजनीतिक इतिहास बदल्ने नेताका रूपमा स्थापित भएको उल्लेख गरे ।

उनले भने, ‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपीले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरू हुन् ।

त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।’ प्रचण्ड १० औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रूपमा इतिहासले स्वीकार गर्ने दाबी गरे ।

यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए । आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैं उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए ।

जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोश्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरूमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे । उनले थपे, ‘म जनयुद्धको पहिलो फौजी कमाण्डको कमाण्डर हुँ । २८ वर्षदेखि प्रचण्डसँग काम गर्दै आएको छु ।

बिग्रिएका जति सबै प्रचण्डको थाप्लोमा हाल्ने र राम्रो सबै हामीले गरेको भन्ने पक्षमा हामी हुनुहुँदैन, ‘मेरो भनाइ कोही साथीप्रति लक्षित छैन । हामीले राम्रा जति सबै प्रचण्डबाट भएको भन्ने वा नराम्रा जति सबै प्रचण्डको टाउकोमा हाल्ने र जसजति आफूले लिने गल्ती गर्नुहुँदैन ।

राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी नेतृत्वमा भएका हामी सबैले लिनुपर्छ ।’पुनले पार्टीभित्र आफ्नो छुट्टै समूह नभएको पनि स्पष्ट गरे । कार्यशैली, विचार र दृष्टिकोणमा समानता हुनेहरूबीच बढी नजिक सम्बन्ध हुनुलाई अन्यथा मान्न नहुने भए पनि त्यसैलाई स्थायी गुट बनाउन नहुने भन्दै उनले आफूले गुट निर्माण नगरेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us