
काठमाण्डु, १४ भदौ– अधिकांश खेल संघदेखि विभागीय मन्त्रालय पनि आन्तरिक र आपसी विवादमा फसेका छन् ।
खेलकुदको विकासका लागि सक्रिय हुनुपर्ने यी निकाय आर्थिक चलखेल, राजनीतिक स्वार्थपूर्ति र जुँगाको लडाँइमा लिप्त छन्, जसले गर्दा नेपाली खेलकुद क्षेत्र नै भद्रगोल बनेको छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद र त्यसलाई निर्देश गर्ने खेलकुद मन्त्रालयबीच लामो समयदेखि घम्साघम्सी चलिरहेकोछ । कतिसम्म भने परिषद्का सदस्यसचिव युवराज लामाले मन्त्री पुरुषोत्तम पौडेलविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा मुद्दा दायर गरेका छन् । दुवै पक्षको सम्बन्ध पानी बारबारबारको जस्तै छ ।
‘साँढेको जुधाइमा बाछाको मिचाइ’ भनेजस्तै दुई ‘टाउके’ को लडाइंमा खेलकुदको विकास गति दिनदिनै थच्चिदै छ । मन्त्री भएको साढे पाँच महिनापछि मात्रै पौडेले गत साउन अन्तिम साता आफू अध्यक्ष रहेको खेलकुद परिषद्को बैठक राख्न सके । त्यही बैठकमा पनि उनले परिषद्को कार्यविधि मिचेर आफ्नै नेतृत्वमा एसियाड तयारी समिति गठन गरे ।
खेलकुदको अर्को महत्वपूर्ण निकाय हो, ओलम्पिक कमिटी । जसले नेपाली खेलकुदको अन्तर्राष्ट्रियस्तरमा समन्वय र विस्तार गर्ने गर्छ । तर आठ वर्षदेखि यो निकायलाई खेलकुद र खेलाडीको त परै जाओस् । आन्तरिक समन्वय र सम्बन्ध विस्तार गर्नसमेत हम्मे परेको छ ।
नयाँपत्रिका बाट