काठमाण्डु, २० मंसिर– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यक भएको बताएका छन ।
आज बिहीबार काठमाण्डुमा भएको ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले नेपाल अहिले तिव्र सहरीकरणबाट गुज्रिरहेको पनि बताएका छन ।
उनले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यक भएको पनि बताएका छन । उनले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पुर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरू नेपालको ठुलो सम्पत्ति भएको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको पनि बताएका छन ।
विनाशकारी प्रभावहरू बढिरहेको उल्लेख गर्दै सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरूको खोजी आजको चुनौती रहेको रहेको समेत बताए ।
उनले भने, ‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनर्संरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठुलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ ।’
योजनाबद्ध सहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भीर आर्थिक, सामाजिक र वातावरणीय असरहरू पर्ने उनको भनाइ छ ।