काठमाण्डु, २० मंसिर– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याएको दाबी गरेका छन ।
प्रवक्ता सापकोटाले मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको दाबी गरेका छन । प्रवक्ता सापकोटाले भने, ‘मन्त्रीले नै अनौठो, इतिहासमा कहिले नभएको कुरा विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेर, बसेर त्यहाँ विद्युत् प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ, यस अर्थमा वास्तवमा सरकारले बिचौलियाहरुलाई जोगाउने, भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ ।’यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने उनले बताए ।
उनले भने, ‘व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत् र अन्यमार्फत् सरकारलाई खबरदारी गर्ने छौं ।’ ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणको कार्यालयमा आफ्नो कार्यकक्ष खोलेका छन् ।
विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुने भएकाले प्राधिकरणमा कार्यकक्ष बनाएको मन्त्री खड्काको भनाइ छ ।