काठमाण्डु, ५ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता नेपालमा संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला भएको दबी गरेका छन ।
तत्कालीन नेपाल सरकार र विद्रोही नेकपा माओवादीबिच शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको अवसरमा बुधवार एक भिडियो वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग अपिल समेत गरेका छन । उनले आफ्नै नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुगेकोमा खुसी व्यक्त गरेका छन् ।
तत्कालीन सात दल र माओवादीबिच २०६२ साल मङ्सिरमा १२ बुँदे सहमति भएपछि १० वर्षे सशस्त्र विद्रोह अन्त्य भएको थियो । सोही सहमतिको जगमा ०६२/0६३ मा १९ दिने जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेको थियो । ०६३ मङ्सिर ५ गते सरकार र माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको थियो ।