डोनाल्ड ट्रम्पको घोषणाः अवैध आप्रवाशीलाई सेना लगाएर देश निकाला गर्छु

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते ७:३३ मा प्रकाशित

एजेन्सी– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवाशीहरुलाई सेना लगाएर देश निकाला गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा सुरक्षा राष्ट्रिय आपतकाल घोषणा गरी मेक्सिकोको सीमानामा पर्खाल लगाउने उनले बताए ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक कार्यकर्ताको पोस्टलाई ट्रम्पले रि–पोष्ट गरेका छन् । ती कार्यकर्ताले नवनिर्वाचित राष्ट्रपति ट्रम्प राष्ट्रिय आपतकाल घोषणा गर्न र गैरकानूनी आप्रवाशीलाई देश निकाला गर्न तयार रहेको बताएका छन् ।

रि–पोस्ट गर्दै उनले उक्त कुरा सत्य भएको लेखेका छन् । राष्ट्रपति निर्वाचन हुनुअघि गत जुलाईमा एक कार्यक्रममा ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनले भित्र्याएका लाखौं अवैध आप्रवासीलाई आफूले फिर्ता पठाउने चेतावनी दिएका थिए ।

ट्रम्पले उक्त मुद्धालाई प्रमुख चुनावी नारा बनाएका थिए । अमेरिकामा हाल झण्डै सवा करोड आप्रवासी गैरकानुनी रूपमा बस्दै आएका छन् । ट्रम्पले आप्रवासीहरूबाट अमेरिकीहरू बलात्कार र हत्याको शिकार हुनुपरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us