काठमाण्डु, २१ कात्तिक– इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषदको गत १४ साउनको बैठकले पण्डितलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइै विशेष समितिले सुनुवाइ सकेर गत ३ असोजमा पण्डितको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
काँग्रेस कोटामा राजदूत भएका पण्डित यसअघि पद्यमकन्या क्याम्पस बागबजारका प्रमुख थिए । संसदीय सुदुवाईका क्रममा उनले आफू राजदूत भएर गए जारी इजरायल र हमासबीच जारी युद्ध रोक्न पहल गर्ने अभिव्यक्ति दिएका थिए ।
उनले इजरायललाई हमासमाथिको आक्रमण रोक्न आग्रह गर्ने बताएका थिए । ‘त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ । तिमी स्वतन्त्र राष्ट्र छौ भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर । बन्द गर भन्ने सुझाव दिन तपाईंको प्रतिनिधि तयार हुनेछ’, संसदीय सुनुवाइ समितिमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा पण्डितले भनेका थिए, ‘यो संसार ईश्वरले व्याप्त छ । यसलाई मेरो मात्रै हो भन्ने नठानौं । यो सबैको हो, त्यसैले त्यागका साथ भोग गर्यौं भने मलाई लाग्दैन यो समस्या धेरै रहन्छ ।’
यस्तै उनले राष्ट्रको समुन्नतिको लागि चाणक्य नीति र कृष्ण नीतिलाई अवलम्बन गरेर राजदूतको काम गर्ने बताएका थिए ।
पद्मकन्या क्याम्पसको प्रमुख हुँदा सूचना लुकाएकामा पण्डितलाई राष्ट्रिय सूचना आयोगले १५ हजार जरिवाना गरेको थियो । उच्च अदालतले उक्त जरिवाना सदर हुने फैसला गरेको थियो ।
सुनुवाइका क्रममा सांसदले त्यसबारे जिज्ञाशा राखेकामा उनले उक्त मुद्धा धनप्रसाद पण्डितविरुद्ध नभई क्याम्पस प्रमुखविरुद्ध भएको अभिव्यक्ति दिँदै पन्छिएका थिए ।