काठमाण्डु, २१ कात्तिक– भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट सफाई पाएका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा कामकाज गर्न नदिने भएका छन् ।
आफ्ना विश्वासपात्र एकनारायण अर्याल मुख्यसचिव रहेकाले ओलीलाई बैकुण्ठलाई कामै बिनाजिम्मेवारी आयोगमा पठाएका हुन् ।
अदालतले सफाई दिएसँगै निलम्बन फुकुवा भएका अर्याल स्वतः मुख्यसचिवको पुरानै जिम्मेवारीमा फर्कनुपर्नेमा ओलीले उनलाई आयोगमा पठाएर थन्क्याउन खोजेका छन् । अर्याल आरोप असत्य भएको र आफूले सफाई पाएको भन्दै पुरानै जिम्मेवारीमा फर्कन चाहन्थे ।
तर, प्रधानमन्त्री ओलीले उनलाई ल्याउन चाहेनन् । ‘निलम्बन फुकुवा भएपछि उहाँले स्वतः पुरानै जिम्मेवारीमा फर्कन्छु भन्ने ठान्नुभएको रहेछ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्रीको उहाँभन्दा अरुसँगै काम गर्ने रुचीका कारण फर्कन सम्भव भएन ।’
अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा पठाउने तयारी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अर्याललाई आयोगमा पठाउन रमानापत्र तयार पारेर योजना आयोगमा पठाएको छ ।
अर्यालले विशेषबाट गत १४ कात्तिकमा अन्तशुल्कका स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा सफार्इ पाएका थिए । सफाई पाएलगत्तै अर्यालको निलम्बन फुकुवा भएको छ ।
गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै १० असारमा तत्कालीन सरकारले योजना आयोगमा मुख्य सचिव सरहको विशिष्ट श्रेणीको पद सिर्जना गरी अर्याललाई काज सरुवा गरेको थियो ।
योसँगै अर्यालद्वय अब सरकारका मुख्यसचिवमा कायम हुने भएका छन् । सफाई पाएपछि पनि अर्याललाई पुरानै जिम्मेवारीमा फर्कन नदिइएको भन्दै निजामति कर्मचारीभित्र असन्तुष्टि देखिएको छ ।