काठमाण्डु, २१ कात्तिक- अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित हुने निश्चितजस्तै भएपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले यो अमेरिकी जनताको सानदार जित भएको टिप्पणी गरेका छन् ।
फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले मतदातालाई धन्यवाद दिए ।
आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने दाबी उनले गरे । ‘यो अमेरिकी जनताको एक शानदार विजय हो । जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भने ।
आफू राष्ट्रपति पदमा विजयी मात्र नभई अमेरिकाको लोकप्रिय मत पनि जितेको उनले बताए ।
विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने दाबी ट्रम्पले गरे ।
‘हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं । यो निकै महत्वपूर्ण र महान् छ,’ उनले भनेका छन् ।
सम्बोधनका क्रममा उनले पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर पहिलो महिला भन्दै अंकमाल गरेका थिए ।