काठमाण्डु, २१ कात्तिक– नेपालमा टिकटक दर्ता भएको छ ।
सञ्चार मन्त्रालयले औपचारिक रुपमा नेपालमा टिकटक दर्ता भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक दर्ता भएको बताए । सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाअनुसार टिकटक दर्ता भएको जानकारी उनले दिए ।
डिजिटल साक्षरता र पर्यटन प्रवद्र्धनमा सहयोग गर्नेसहित नेपालका सबै सर्त स्वीकार गरेपछि टिकटक दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष टिकटकमाथि लगाएको प्रतिबन्ध वर्तमान सरकारले गत ६ भदौमा मन्त्रिपरिषदबाट सर्तसहित हटाउने निर्णय गरेको थियो ।
दर्ता भएसँगै अब टिकटकले नेपाललाई राजश्व तिर्नुपर्ने छ । यस्तै नेपाली सुरक्षा एजेन्सीको आग्रहमा आपत्तिजनक, चरित्र हत्या र घृणा फैलाउने खालका पोष्ट टिकटकले हटाउने छ ।