बालुवाटारबाट रास्वपाका एक दर्जन नेता कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– प्रहरीले बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए । नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाका नेताहरुले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाण्डु जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बाँकी नेता–कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटारभन्दा बाहिर पठाइरहेको छ । त्यहीँ उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us