सत्तारुढ पार्टीभित्रका सहकारी ठगमाथि पनि कारबाही हुन्छः सरकारका प्रवक्ता

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १२:०५ मा प्रकाशित

लमजुङ, १० कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दलहरुभित्र रहेका सहकारी ठगमाथि कारबाही हुने बताएका छन् ।

गृहजिल्ला लमजुङमा शनिबार आयोजित कार्यक्रममा उनले सत्तापक्ष र विपक्षी नभनी अनुसन्धान र कारबाही हुने दाबी गरे ।

सहकारीको बचत अपचलनसम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी औंल्याएका सबैमाथि कारबाही हुने उनको भनाइ थियो । गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने उल्लेख गरे ।

रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा उनको दलले अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि अनुचित दबाब दिन सडकमा प्रदर्शन गर्नु गलत भएको टिप्पणी गरे ।

सडकबाट अनुसन्धान र अदालती प्रक्रिया नरोकिने बताए । गुरुङले अदालती प्रक्रियालाई सहयोग गर्न रास्वपालाई आग्रह गरे ।

सहकारी ठगीमा संलग्न ६ सय व्यक्तिलाई सरकारले अनुसन्धानको दायरामा ल्याइसकेको दाबी उनले गरे ।

फरक प्रसंगमा मन्त्री गुरुङले सरकार सुशासनको पक्षमा दृढताका साथ अघि बढेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us