धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– धादिङको थाक्रेमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन । काठमाण्डुबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिएका छन । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भईरहेको प्रहरीले जानकारी दिएको छ ।

भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन । तर आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us