काठमाण्डु, ८ कात्तिक– प्रहरीले सुनसरीबाट बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र ५ जना नेपाली नागरीक रहेका छन ।
धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरीएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका– १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ । यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ मा रहेको छ ।
किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्दार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिएका छन ।
विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् । यस्तै चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । किशोरीको जबरजस्ती विवाहको तयारी गरेपछि उनकै आफन्तले प्रहरीलाई खबर गरेका थिए ।