काठमाण्डु, ८ कात्तिक– सत्ता घटक दल एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुने भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । दरपिठ इजलासले बदर गरेर दर्ता गर्न आदेश गरेपछि मंगलवार रिट दर्ता भएको थियो ।
विभिन्न भ्रष्टाचारका घटनामा आरोपित भई अदालतमा मुद्दा विचाराधीन रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भन्दै गत असोज २५ गते काठडमाण्डुको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।
सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए । मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।