काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको कागेश्वरी मनहरा नगरपालिका–८ मा एक चिनियाँ नागरिकले सिसुवान याङ टेक्टटायल प्रा.लि नामको कपडा उद्योग सञ्चालन गर्दै आएका छन् ।
उक्त कम्पनीको म्यानेजरमा नेपाली महिला मिङवुती शेर्पा रहेकी छन । शेर्पाको मोबाइल नम्बरमा २१ असोजको राति ८ः ४० बजे एउटा म्यासेज आयो । ‘हाम्रो पार्टीलाई डेढेदेखि २ लाख सहयोग गर्नुस् ।
रकम लिएर नुवाकोटमा भेट्न आउनु । नत्र बम बिस्फोट गरेर कम्पनी उडाइदिन्छु’ भन्ने म्यासेज शेर्पाको मोबाइलमा आयो । म्यासेज आएको भोलिपल्ट उनी नजिकैको काँडाघारी प्रहरीमा गएर घटनाबारे बताइन् । शेर्पाको मोबाइलमा आएको म्यासेज एनसेलको नम्बरबाट आएको थियो । उक्त नम्बर समेत शेर्पाले प्रहरीमा जानकारी गराइन् ।
तर त्यतिबेला उक्त नम्बर स्वीच अफ भइसकेको थियो । त्यसको करिब एक सातापछि फेरि अर्को नयाँ नम्बरबाट शेर्पाकै मोबाइल नम्बरमा अर्को म्यासेज आयो । ‘तँ प्रहरीमा समेत गइस् हैन ? पैसा नदिइ प्रहरीमा खबर गरिस् हैन ? अब प्रहरीलाई भनिस् भने राम्रो हुनेछैन’ यही विवरणको म्यासेज शेर्पाको मोबाइल आयो ।
त्यसपछि शेर्पा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेकी थिइन् । अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काको टोलीले अनुसन्धान गर्दा चन्दा नदिए बम हानेर कम्पनी नै उडाउने धम्की दिने व्यक्ति सोही कम्पनीमै काम गर्ने पदम भनिने आकाश तामाङ रहेको खुल्यो । अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई ५ कात्तिकमा कम्पनीबाटै पक्राउ ग¥यो ।
सिन्धुपाल्चोकको ज्यामिरे घर भएका ३२ वर्षीय तामाङ उक्त कपडा उद्योगकमा मजदुरको रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरी समक्ष तामाङले दशैंको मुखमा खर्च चाहिएकाले सामान्य धम्क्याउँदा चाइनिज डराएर पैसा दिइहाल्छ भन्ने सोचेर धम्क्याएको बताएका छन् । पहिलो पटक एसएमएस गर्दै धम्याए पनि उनी कम्पनीमा काम गर्न भने गइरहन्थे ।