सरकार कामचलाउ जस्तो भएको भन्दै रास्वपाद्वारा संसदको विशेष अधिवेशन बोलाउन माग

काठमाण्डु टुडे २०८१ असोज ३० गते १९:३८ मा प्रकाशित

काठमाण्डू,३० असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

रास्वपाले सरकार र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

उनले दुईतिहाइको सरकार कामचलाउ जस्तो भएकोसमेत दाबी गरे ।

घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारले प्रारम्भिक संकेतसम्म नदेखाएको रास्वपाको निष्कर्ष छ ।

मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको दरलाग्दो अभ्यास गरेबाट सरकारको सुशासनको अडान धरमराएको विज्ञप्तिमा उल्लेख छ ।

‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ ।

मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको दरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ ।

संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुनेगरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो, तर उक्त विषय अहिले ओझेलमा पारिएको छ,’ झाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

संवादहीनतामा लोकतन्त्र फस्टाउन नसक्ने भन्दै रास्वपाले शिथिल अर्थतन्त्र, कमजोर विपद् व्यवस्थापन, उकुसमुकुसपूर्ण सामाजिक परिस्थिति र युवाहरुमाझ निराशा फैलिएको बेला नागरिक समाज र जनप्रतिनिधिहरु मौन बस्न नमिल्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us