प्रणालीलाई दोष दिने होइन, हामी सुध्रिनुपर्छः सरकारका प्रवक्ता

काठमाण्डु टुडे २०८१ असोज ३० गते १९:०२ मा प्रकाशित

काठमाण्डू, ३० असोज- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने स्पष्ट गरेका छन् ।

रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रमको बुधबार शुभारम्भ गर्दै उनले समानुपातिक निर्वाचन प्रणाली हटाउन खोजिए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनी दिए ।

मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको उनले स्मरण गरे ।

‘हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ ? प्रश्नहरू उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर समानुपातिक हटायो भने हामी अर्को द्वन्द्वमा जान तयार हुनुपर्दछ । यो कुरा सबैले बुझ्नुपर्दछ,’ उनले भने । सबैलाई बराबर अधिकार दिए मात्र राष्ट्रिय एकता मजबुत हुने उनले बताए ।

प्रणाली जुनसुकै भएपनि ठीक ढंगले चलाउन पार्टी र नेताहरूले जान्नुपर्ने उनको भनाइ थियो ।

गुरुङले प्रणालीमा दोष नदिई राजनीतिक नेतृत्वले व्यवहारमा, आचरणमा र शैलीमा दोष खोज्नुपर्ने बताए ।

राजनीतिक दलका नेताहरु सुध्रिएर जानुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us