सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारवाही प्रक्रिया सुरू भइसक्यो: सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ असोज ३० गते १७:४४ मा प्रकाशित

काठमाण्डु, ३० असोज– सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन ।

आज (बुधबार) सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धीत मन्त्रालयलाई लेखिपठाइसकेको पनि जानकारी दिएका छन । उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिवद्धता समेत जनाएका छन ।

त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको पनि बताएका छन । जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उनले बताएका छन ।

उनले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको पनि बताएका छन । उनले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको पनि बताएका छन ।

यसअघिको सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमश भुक्तानी गर्दै जाने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us