काठमाण्डु, २३ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाण्डु महानगरका प्रमुख बालेन्द्र साह (बालेन ) जनमतबाट आएकाले उनीहरुलाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् ।
बुधबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा प्रमुख सञ्चार माध्यमका सम्पादहरुसँगको कुराकानीमा उनले विद्यमान संविधान र व्यवस्थाअन्तर्गत नै उनीहरु जनताको अभिमतबाट आएको बताए ।
जनमतबाट आएका शक्ति र व्यक्तिलाई अपमानित गर्नु लोकतन्त्र नभएको उनको भनाइ थियो । आफूले सुरुदेखि अहिलेसम्म पनि नयाँ दल र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकाहरुप्रति नकारात्मक टिप्पणी नगरेको र अब पनि नगर्ने प्रचण्डले बताए ।
नयाँ दलहरुको उदयलाई आफूले प्रमुख दलहरुको कमजोरीको अभिव्यक्तिका रुपमा बुझेको र उनीहरु लोकतन्त्रको फूल भएको टिप्पणी पनि उनले गरे ।
‘स्वतन्त्र हैसितमा चुनाव लडेका या स्वतन्त्र पार्टी भनेर नयाँ आएका पार्टीहरुलाई सुरु देखि नै अपमानित गरेर जानु हुँदैन भन्ने मैले ठानें । त्यो गर्नु लोकतन्त्र होइन, देशको हितमा छैन पनि । चाहे बालेनले काठमाण्डु महानगरपालिकामा अत्याधिक मतले जितेको होस् । चाहे हर्कको कुरा होस् चाहे राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा होस्’, उनले भने, ‘यिनीहरु प्रमुख राजनीतिक दलका कमजोरीप्रति जनतामा भएको असन्तुष्टिको अभिव्यक्ति हो ।
लोकतन्त्रमा सयौं फूल फुल्न दिने भन्ने हिसायबले पनि नयाँ फूलका रुपमा तिनलाई जगेर्ना गर्नुपर्छ । त्यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।’