विकास निर्माणको शैलीमा आमुल परिवर्तन गर्नुपर्छःओली

काठमाण्डु टुडे २०८१ असोज २२ गते २०:५१ मा प्रकाशित

काठमाण्डू, २२ असोज-प्रधानमन्त्री केपी ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनको शैली अपनाउनुपर्ने  बताएका छन् ।

लगानी बोर्डको ५९औं बैठकमा मंगलबार बोर्डका अध्यक्षसमेत रहेका ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारी रूपमा काम गर्न सम्वद्ध निकायलाई आग्रह गरे ।

‘हामीले सामान्य सुधार होइन, रूपान्तरण नै गर्नुपर्छ । पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन ।  बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन। कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौं । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौं।’

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । 

बोर्डले सरकारको लगानीसम्बन्धी बजेट र खर्च घट्दो रहेको अवस्थामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धता बमोजिम काम हुनुपर्ने, स्वदेश र विदेशमा लगानी प्रवर्द्धनको काम गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई पूर्ण कार्यान्वयनमा ल्याइ छिटो छरितो काम गर्नुपर्नेमा जोड दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us