काठमाण्डु, २२ असोज– आज मंगलबारदेखि काठमाण्डु उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ। आज काठमाण्डुको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन् ।
सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका विभिन्न पानी बितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रशाद लामिछानेले जानकारी दिएका छन ।
उनले भने, ‘मन्त्री ज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ।’
मेलम्चीको पानी काठमाण्डु उपत्यका खानेपानी लिमिटेडमा आइसकेकाले अब काठमाण्डु उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिएका छन ।
उनले भने, ‘मेलम्चीको सफा अनि शुद्ध पानी आईपुगेको छ, अब केही समयमै नागरिकका धारा धारामा पठाउछौँ।’