गौशाला धर्मशाला अब काठमाण्डु महानगरले सञ्चालन गर्ने

काठमाण्डु टुडे २०८१ असोज २२ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, २२ असोज– अब काठमाण्डु महानगरपालिकाले पशुपतिको गौशाला धर्मशाला अब सञ्चालन गर्ने भएको छ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशाला व्यवस्थापन जिम्मा पशुपति विकास कोषले महानगरलाई दिने भएको हो ।

काठमाण्डु महानगरपालिका–८ का अध्यक्ष समेत रहेका पर्यटन तथा सम्पदा समिति संयोजक आशमान संगतले महानगरपालिकालाई सञ्चालन गर्न पत्र प्राप्त भएको जानकारी दिएका छन ।

आइतबार पशुपति विकास कोष सञ्चालक परिषद्‍ बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न पाउने निर्णय गरेपछि सोही दिन कोषले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झौताका लागि पत्राचार गरेको थियो ।

उनले भने, ‘हामीलाई पत्र आएको थियो । पत्रबारे आज कार्यपालिका बैठकमा पनि छलफल भयो । गौशाला धर्मशाला सञ्चालन गर्न कार्यपालिकाले अनुमोदन गरिसकेको छ । सायद आजै सम्झौता हुन सक्छ ।

धर्मशाला कसरी चलाउने भन्ने बारे महानगरपालिकाले कार्यविधि पनि बनाउँछ ।’ कार्यविधि बनाउन कार्यपालिका मार्फत सैद्धान्तिक सहमति लिनुपर्ने भएकाले बोर्डमा लगिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us