सरकारले खोल्यो थप ५७ हिमालमा आरोहण

काठमाण्डु टुडे २०८१ असोज २२ गते १४:४४ मा प्रकाशित

 

काठमाण्डु, २२ असोज– सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन ।

यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो । मन्त्रालय मातहत पर्यटन विभागले हिमाल व्यवस्थापन गर्दै आएको छ ।

आरोहणमा थप ५७ हिमाल खुला गरिँदै यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिस गरिएका हिमालमा ६ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् ।

यसपालि पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका चुचुरो आरोहणका लागि खुला भएका हुन् । यसअघि नेपालमा ४ सय १९ हिमाल चुचुरा आरोहणमा खुला भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us