धनगढीमा झन्डै २ लाखसहित ६ जना जुवाडे

काठमाण्डु टुडे २०८१ असोज २२ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २२ असोज– प्रहरीले धनगढीबाट झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिएका छन ।

पक्राउ परेका ६ जनालाई नै जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us