हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २२ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, २२ असोज– हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्ड एक नागरीकको मृत्यु भएको छ ।

पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ । पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिएका छन ।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डु पठाइएको उनले जानकारी दिएका छन ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाण्डु ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिएका छन ।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us