काठमाण्डू, २२ असोज- कांग्रेस सांसद विनोद चौधरीले अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर उखुको समर्थन मूल्य तोक्न माग गरेका छन् ।
समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै उनले अर्थमन्त्री र कृषि मन्त्रीलाई भेटेर उखुको मूल्य तोक्न माग गरेका हुन् ।
‘उखुको समर्थन मूल्य सरकारले छिटो तोक्नुपर्यो, किसान निराश छन्,’ चौधरीले भने, ‘विगतको भन्दा उखुको मूल्य पनि वृद्धि गर्नुपर्छ।’
चौधरी नवलपरासी १ बाट निर्वाचित भएका थिए । त्यस क्षेत्रमा किसानहरूले उखु खेती गर्ने गरेका छन् ।
किसानका समस्या समाधान गर्न आफूले सरकारसँग पहल गरेको उनको भनाइ छ ।
गत वर्ष सरकारले तोकेको अनुदानबापतको रकम किसानले अहिलेसम्म पनि नपाएको गुनासो आएको पनि चौधरीले मन्त्री पौडेल र अधिकारीलाई सुनाएका थिए ।
केही चिनी मिलले किसानहरूलाई अझै पनि भुक्तानी नदिएको उनको भनाइ थियो। उनले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी बापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न पनि माग गरेका छन् ।