आज यी स्थानमा वर्षा हुने

काठमाण्डु टुडे २०८१ असोज २२ गते ८:११ मा प्रकाशित

काठमाण्डु, २२ असोज–आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने मनसुन करिब बाहिरिइसकेको छ ।

देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावसमेत छ ।

बिहानदेखि पहाडी भू–भागका केही स्थानमा वर्षात भइरहेको छ ।कोशी र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागले गरेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us