आरजुसहित शीतलनिवास पुगेका ओलीलाई रास्ट्रपतिले सचेत गराए

काठमाण्डु टुडे २०८१ असोज २१ गते २१:३२ मा प्रकाशित

काठमाण्डू, २१ असोज- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले सोमबार भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भवन शीलत निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् । 

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको भन्दै उनले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रपति पौडेलले हालै गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले दुई ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको दाबी गरेका थिए ।

सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराएका थिए ।

महासभामा नेपालले समुद्रसतह उठेकोदेखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको बताए ।

प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्त्वपूर्ण ‘साइडलाइन’ वार्ता गरेको पनि जानकारी गराएका थिए । सो भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us