काठमाण्डु, २२ असोज– दुर्गा प्रसाईं समूहले ट्रकमा आगजनी गर्दा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत इस्लामपुरका ४० वर्षीय पोदो राय रहेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
रायले चलाएको डब्ल्यु बी ७३ ई ३०५६ भारतीय नम्बरको ट्रक झापाको बिर्तामोड–६ गिरिबन्धु टी–इस्टेट नजिकै गत ७ असोजमा प्रसाईंका कार्यकर्ताले जलाएका थिए ।
दुर्घटनामा गम्भीर घाइते रायको दार्जिलिङस्थित बंगाल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार ज्यान गएको हो ।
६ असोजमा प्रहरीको साइबर ब्युरोले प्रसार्ईंलाई साइबर अपराधको मुद्धामा पक्राउ परेको विरोधमा उनका समर्थकले पेट्रोल झर्केर गाडीमा आगजनी गरेका थिए ।
आगजनीका क्रममा जलेर चालक राय गम्भीर घाइते भएका थिए । घटनामा संलग्न प्रसाईंका कार्यकर्ता भिम तुम्बापो लिम्बू, सुरेश चौधरी, विवश लिम्बू, बलिहाङ माबो लिम्बू, राजेश महत, रुद्र भुजेल, वीरबहादुर गुरूङ र उदय लिम्बू थुनामा छन् ।
प्रहरीले उनीहरुवरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्धा चलाउने तयारी गरेको थियो ।
चालकको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा मुद्धा चलाइने एसपी केसीले बताए ।