नेपालबाट बाहिरिन थाल्यो मनसुन

काठमाण्डु टुडे २०८१ असोज २० गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २० असोज– सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरीन सुरु गरेको छ । आज बुलेटिन जारी गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका थोरै भागबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुन बाहिरिने क्रम अन्य प्रदेशतिर पनि क्रमशः फैलिँदै गएको छ । त्यसलाई अद्यावधिक गर्दै जाने महाशाखाका मौसमविदले जानकारी दिएका छन । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्ने गर्दछ । भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक (असोज ७ गते) देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको थियो ।

उसले जारी गरेको अद्यावधिक नक्सामा अरब सागरको केही भाग, मध्य प्रदेशका केही भाग, उत्तर प्रदेशका केही भाग, उत्तराखण्ड र नेपालको सुदूरपश्चिमका केही भागबाट मनसुन बाहिरिएको देखाइएको थियो । तर नेपालका मौसमविद्हरु भने यो कुरामा सहमत थिएनन् ।

त्यसैले भारतले घोषणा गरेको झण्डै दुई हप्तापछि मात्रै नेपालले आफ्नो सुदूरपश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यस वर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us