काठमाण्डु, २० असोज– गत साताको बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् ।
गृह प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको जानकारी दिए ।
सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको उनको भनाइ छ ।
तिवारीले स्थानीयस्तरबाट भबाढीपहिरो पीडितको विवरण सङ्कलन इरहेको र त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुने बताए ।
स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको पनि उनले बताए ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ ।
तिवारीका अनुसार हालसम्म त्यस्तो सहायता १ सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।