
काठमाण्डु, १८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध चितवनमा प्रदर्शन गर्नेहरु दुई सत्तारुढ घटक काँग्रेस र एमालेका कार्यकर्ता रहेको आरोप लगाएको छ ।
रास्वपाका एक पदाधिकारीले काँग्रेस–एमालेले नियोजित रुपमा कार्यकर्ता परिचालन गरी नाराबाजी गराएको बताए ।
‘जति नै हल्ला गरे पनि सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिले सहकारीको पैसा गोर्खा मिडियामा ल्याउन हाम्रो सभापतिको संलग्नता छैन भन्ने स्पष्ट गरेपछि आत्तिएका काँग्रेस र एमालेले बदनाम गर्ने उद्देश्यले कार्यकर्तालाई प्रदर्शनमा उतारेका हुन्’, ती नेताले भने, ‘यस्ता गतिविधिबाट रास्वपा डराउँदैन र हाम्रो अभियान रोकिने वाला पनि छैन ।’
उनले पञ्चायती शैलीको सरकारी गुण्डागर्दी बन्द गर्न पनि सत्तारुढ दलहरुलाई आग्रह गरे । लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाको मुग्लिनमा आयोजित सार्वजनिक सुनुवार्इ कार्यक्रममा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका थिए ।
कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन करिब दुई दर्जनको संख्यामा रहेको समूहले मुग्लिन बजारमा लामिछानेविरुद्ध प्रदर्शन र नाराबाजी गरेको थियो ।
प्रदर्शनकारीले कालो झण्डा र ब्यानर बोकेका थिए । ब्यानरमा ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गर जस्ता नारा लेखिएका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले ती नाराहरु लगाएका पनि थिए । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले भने लामिछनेविरुद्ध सहकारी पीडितले कालोझण्डा देखाएको बताए ।