स्याङ्जामा जिप दुर्घटना, ७ जना घाइते

काठमाण्डु टुडे २०८१ असोज १८ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, १८ असोज– स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि पौडेलले जानकारी दिएका छन ।

घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली रहेको उनले जानकारी दिएका छन ।

जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको डीएसपी पौडेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us