क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १८ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, १८ असोज– मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन रहेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । कृष्ण क्रसर केराबारी गाउँपालिका पूर्वपालिका अध्यक्ष रोहित कार्कीसहितको समूहले सञ्चालन गर्ने गरेका छन । क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो परेको थियो ।

सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो । सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

पछि खोजी गर्ने क्रममा फेला परेको दाजुको शव भने स्थानीयले निकाल्न दिएका छैनन् । क्रसरको लापरवाहीले दुई बालकको मृत्यु भएको भन्दै उनीहरुले छानबिन गर्न माग गरेका छन् । मोरङका प्रहरी उपरीक्षक कार्कीका अनुसार पौडी खेल्ने क्रममा बालकको मृत्यु भएको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us