स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवार सघाउनेबारे रास्वपामा छलफल

काठमाण्डु टुडे २०८१ असोज १८ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १८ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवारबारे विकल्प खुला राखेको छ ।

स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले आगामी १६ मंसिरमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो ।

स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिन लागेको रास्वपाले गैरदलीय उम्मेदवारलाई सहयोग गर्न सकिने गरी विकल्प खुला राखेको छ । विधानतः रास्वपाले लिडरसीप एकेडेमीमार्फत उम्मेदवार चयन गर्नुपर्ने हुन्छ । उपनिर्वाचन हुने समयसम्म लिडरसिप एकेडेमीबाट उम्मेदवार तयार हुने सम्भावना कम रहेको सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन ।

१ र २ असोजमा भएको राष्ट्रिय सम्मेलनमा सभापति लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘पार्टीले योग्य उम्मेदवार तयार गर्न नसकेमा हामी गैरदलीय योग्य उम्मेदवारलाई सघाउन सक्नेछौं ।’

रास्वपाले उप निर्वाचनका उम्मेदवारका लागि तीन प्रकृतिबाट छान्ने विकल्प राखेको छ। आफ्नै दलको उम्मेदवार उठाउने, गैरदलीय स्वतन्त्र उम्मेदवारलाई घण्टी चुनाव चिन्हमा दिने वा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन मात्र दिने गरी विकल्प ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us