राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः लोहनी

काठमाण्डु टुडे २०८१ असोज १८ गते ११:५० मा प्रकाशित

काठमाण्डु, १८ असोज– राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको दाबी गरेका छन ।

अध्यक्ष लिङ्देनले हिजो बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा. धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए ।

राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको दाबी छ । उनले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लोहनीले भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ ।]

यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’

तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us