दशैंको दोस्रो दिन आज ब्रम्हचारीणीको पूजा गरिंदै

काठमाण्डु टुडे २०८१ असोज १८ गते ६:१९ मा प्रकाशित

काठमाण्डू, १८ असोज-हिन्दू नेपालीहरुको महान चाड बडादसैंको दोस्रो दिन आज ब्रम्हचारीणीको पूजा आराधना गरिंदैछ ।

नवरात्रीका नौं दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न ९ रुपलाई पूजा गर्ने परम्पराअनुसार आज ब्रम्हचारीणीको पूजा गर्न देशभरका शक्तिपीठ र दसैंघरहरुमा घुइँचो लागेको छ ।

बिहीबार आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा घटस्थापना गरिएसंगै दसैं सुरु भएको थियो । घटस्थापनाको पहिलो दिन शैलपुत्रीको पूजा गरिएको थियो ।

राजधानीका तलेजु भवानी, गृहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको बिहानैदेखि भिड लागेको छ ।

काठमाण्डु उपत्यका बाहिरका बाँकेको बागेश्वरी, दाङको अम्बीकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका शक्तिपीठहरुमा पनि पूजा भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us