भौतिक न्त्रालयको निष्कर्षः दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

काठमाण्डु टुडे २०८१ असोज १७ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, १७ असोज– भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने निष्कर्ष निकालेको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले यस्तो जानकारी दिएका हुन ।

उनले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।

त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुने उनले जानकारी दिएका छन । अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने सचिव शर्माले जानकारी दिएका छन । तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्छ ।

उनले अगाडि भने, ‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन ।’ सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको थियो ।

‘तर त्यो साह्रै घुमाउने हुने भयो’, उनले भने, । सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनले बताए । सचिव शर्माले अगाडि भने, ‘अहिलेका लागि विकल्प यो छ ।’ पूर्व जाने गाडीहरुका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए ।

भौतिक पूर्वाधार सचिव शर्माले भने, ‘यो बाटोबाट हेटौंडा र त्यहाँबाट भिमान जान सकिन्छ । सिन्धुली एक्लिएर अन्यत्र जाँदा भयो ।’ भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो पनि सञ्चालनमा छ । त्यस्तै थानकोट –चित्लाङ भएर पनि हेटौंडा जान सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us