रामेछापबाट काठमाण्डु आउन खुल्यो वैकल्पिक मार्ग

काठमाण्डु टुडे २०८१ असोज १७ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, १७ असोज– मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाण्डुसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो ।

पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो ।

रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाण्डु आवतजावत गर्ने गरिन्छ ।

वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाण्डु आवागमन शनिबारदेखि अवरुद्ध थियो ।

सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ ।

यसअघि खुर्कोटको पुल निर्माण नहुँदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाण्डु आवतजावत गर्थे।

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाण्डुका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us