काठमाण्डु, १७ असोज– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्रप्रसाद घिमिरेले आफूले मुद्धा फिर्ता लिने बताएका छन् ।
आफू दुरुपयोग भएको भन्दै उनले उक्त काम गरेकाप्रति प्रश्चाताप प्रकट गरेका छन् । घिमिरेले सोमबार प्रतिवेदन उठाएर बार अध्यषविरुद्ध दुई पृष्ठको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
आफू कसैको प्यादा बन्न नसक्ने बताउँदै उनले निवेदन फिर्ताका लागि निवेदन दिने बताए । आफ्नो सबै परिवार प्रजातन्त्रका पक्षमा लडेको र जनताको आवाजका रुपमा रहेको नेपाल बारको विपक्षमा उभिन नसक्ने घिमिरेको प्रष्टीकरण छ ।
बार अध्यक्षविरुद्ध मुद्धा दर्ता गरेपछि आफू रातर निदाउन नसकेको बताए । ‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाईं लड्नुभयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो’, उपरजिष्ट्रार घिमिरेले सञ्चारकर्मीलाई भनेका छन्, ‘त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।’
न्याय परिषद् नियमावली संशोधनविरुद्ध आन्दोलन गरिरहेको बार अध्यक्षलाई न्यायाधिश नियुक्तिमा चलखेल भएको आरोप लगाएको भन्दै मानहानी मुद्धा दर्ता गरिएको हो ।
बारको विरोधबीच शुक्रबार न्यायपरिषद्ले दुई न्यायाधीश सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध बोलेका थिए ।
घिमिरेलेले न्याय परिषद् नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्तिजनक भएको उनले जनाएका थिए। साथै, त्यसमा परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको घिमिरेको आरोप थियो ।
उनले लेनदेनका आधारमा न्यायाधिश नियुक्ति गरेको आरोप आफूले लगाएको भन्दै सके थुन्न प्रधानन्यायाधीश श्रेष्ठलाई घिमिरेले चुनौती दिएका हुन् ।