आजदेखि दसैं सुरु, घटस्थापनाको उत्तम साइत ९ बजेर १६ मिनेटमा

काठमाण्डु टुडे २०८१ असोज १७ गते ५:४३ मा प्रकाशित

काठमाण्डू, १७ असोज- यसवर्षको बडादसैं आजबाट सुरु भएको छ ।

बडादसैंको पहिलो दिन घटस्थापना गरेर जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका लागि  बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आज गणेश, दियो, कलशको पूजा गरेर घटस्थापना गरिन्छ । जमरा राख्ने बेलामा शक्तिस्वरुपाहरुको पूजा हुने गर्छ ।

असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ ।

यस दिनदेखि नवरात्री आरम्भ हुन्छ । असोज शुक्ल प्रतिपदा आजदेखि पूर्णिमासम्म  १५ दिन नेपालीका घर आँगनमा आ–आफ्ना विधि र परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दसैँ हर्षोल्लासका साथ मनाइँदैछ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई कलशको स्थापना गरेपछि जमरा राखिन्छ ।

बालुवा माटोमा जौ, धान, मकैलगायत छरेर जमरा उमार्ने गरिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ ।

जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रुपमा प्रयोग गर्ने चलन छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्र्तगत नवरात्रीको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

परम्पराअनुसार, घटस्थापनाको उपलक्ष्यमा काठमाण्डुको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रीको पूजा आरम्भ गरिन्छ ।

शक्तिस्वरुपा माता भगवतीलाई जमरा मन पर्ने भएकोले घटस्थापनामा जमरा राख्ने र विजयादशमीमा कालीमाताको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us