काठमाण्डु, १६ असोज– माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चुन्न असफल भएको छ ।
नेतृत्व चयनको विधिबारे विवाद हुँदा सम्मेलन अनिश्चितकालका लागि स्थगन गरिएको छ ।
निर्वाचन समितिले बुधबार साँझ एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि बन्दसत्रका सबै कार्यक्रम स्थगित भएको जनाएको हो । १० असोजमा सुरु सम्मेलन मंगलबार नेतृत्व चयन गरी सकिनुपर्ने थियो ।
देशमा बाढी पहिरोले देशैभर ठूलो जनधनको क्षति भएको र दसैंअघि निर्वाचन गरी नेतृत्व चयन गर्न पर्याप्त समय नभएकाले हाललाई सम्मेलन स्थगन गरिएको सूचनमा उल्लेख छ ।
‘निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदासमेत निर्वाचनो सबै प्रक्रिया पूरा गर्न दसैं अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निस्कर्षमा पुग्न अध्यक्ष मण्डलबीच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित उचित र श्रेयस्कर भएको निस्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित भएकोले अर्को सूचना जारी नभएसम्मको लागि चालु रहेको २३औं राष्ट्रिय सम्मेलन स्थगित गरिएको व्यहोरा अध्यक्ष मण्डलको आज मिति २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णय बमोजिम यस अनेरास्ववियु क्रान्तिकारीको सम्बन्धित सम्पूर्ण निकाय, पदाधिकारीहरु, सम्मेलनमा प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधिलगायत सबैमा जानकारी गराउँदछौं’, सूचनामा भनिएको छ ।
किन नेतृत्व चुन्न असफल भयो सम्मेलन ?
उमेर हद लगाउने विषयमा मतदान गर्ने कि नगर्ने भन्ने विवादका कारण जारी राष्ट्रिय सम्मेलनबाट नतृत्व चयन हुन नसकेको हो ।
हालका अधिकांश उपाध्यक्षसहित १९ जना पदाधिकारी अध्यक्षका आकांक्षी भएपछि त्यसको हल खोज्न माओवादी पदाधिकारी बैठकले उमेर हद लगाउने निर्णय गरेको थियो ।
उमेर हद लगाउने कि नलगाउने भन्नेमा तीव्र विवाद भएपछि त्यसको छिनोफानो पनि निर्वाचनबाटै गर्ने भनियो ।
तर, विवादका कारण आधा दर्जन जिल्लाबाट प्रतिनिधि छनोट नै नभएको भन्दै सोमबार अध्यक्षका आकांक्षीमध्ये केहीले सम्मेलनको बन्दसत्र स्थल कीर्तिपुरमा तोडफोड र नाराबाजी गरेपछि रोकिएको बन्दसत्र रोकिएको थियो ।
अधिकांश उपाध्यक्ष आफूहरुलाई नियतबस पाखा लगाउन खोजिएको भन्दै पार्टी निर्णयको खिलाफमा छन् ।
नेतृत्वमा आए पनि हुने भन्दै उनीहरु सबै प्रतिनिधिले केन्द्रीय सदस्यदेखि अध्यक्षसम्म उम्मेदवार हुन पाउनुपर्नेमा एकमत छन् ।
उपाध्यक्ष जिपी मैनालीले उमेदवर बन्न रोक्ने उद्देश्यले उध्येश्यले बनाइएका ‘मण्डले विधि’ र प्रावधानका कारण सम्मेलन नेतृत्व चुन्न असफल भएको बताए । या वा त्यो प्रावधान राखेर प्रतिनिधिलाई उम्मेदवार हुन रोक्ने प्रपञ्च आफूहरुलाई स्वीकार्य नभएको उनले बताए ।
