काठमाण्डु, १५ असोज– खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाण्डुमा आउने घोषणा गरेका छन । जल तथा मौसम विज्ञान विभागले अबको दुईरतीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाण्डुमा वितरण गरिने उनले बताएका छन ।
उनले २०७६ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठुलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौँका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाण्डु उपत्यकामा पानीको समस्या समाधान हुने पनि बताएका छन ।
उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको पनि बताएका छन । मन्त्री यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरूले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको पनि बताएका छन ।
उनले स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरू मेलम्ची पुगिसकेको पनि बताएका छन । उनले भने, ‘पानी खोल्नु भन्दा अगाडि एउटा ठुलो महाभारत छ । त्यो भनेको मेलम्चीका स्थानीयहरूको आन्दोलन । त्यहाँ बाढी, पहिरो पीडितहरूको आन्दोलन छ । त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ ।
उहाँहरूको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ । उहाँहरूको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ । पानी छोड्न उहाँहरूले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ ।
दुई तीन दिनपछि पानी खोल्नेछौँ ।’ मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाण्डुमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरूले पानी पठाउन अवरोध नगर्नेमा आशावादी रहेको पनि बताएका छन ।